संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसको काँधमा– सभापति देउवा

जुम्ला, २ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको जिम्मेवारी अब काँगे्रसको काँधमा रहेको बताउनुभयो ।

नेपाली काँगे्रस जुम्लाद्वारा आज आयोजित बृहत् सभालाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकको संविधान काँग्रेसको नेतृत्वमा बनेकाले त्यसको कार्यान्वयन पनि काँग्रेसले गर्ने जिकिर गर्नुभयो ।

सभापति देउवाले भाषा, संस्कृति र प्राकृतिक स्रोतले सम्पन्न कर्णाली विकास नहुँदा पछि परेको उल्लेख गर्दै भन्नुभयो, “कर्णालीमा विकास गर्न जरुरी छ, त्यही हेतुले कर्णाली विकास आयोगको गठन गरिएको हो । पछिल्लो चरणमा कर्णालीको विकासलाई महत्वका साथ हेरिएको छ ।”

सभापति देउवाले आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाननजिकै निर्माण गरिएको काँग्रेस जुम्लाका तत्कालीन सभापति स्व मानव सेजुवालको सालिक अनावरण गर्नुभयो ।

केन्द्रीय सदस्य हृदयराम थानीले छैटौँ प्रदेशको माग नाक्चेनाङ्ला नाका खोल्ने रहेको जनाउँदै राष्ट्रको बजेट काठमाडौँमा होइन, अब कर्णाली केन्द्रित गर्न पहल गरिनेछ भन्नुभयो ।

काँग्रेस नेता धनराज गुरुङले कर्णाली राजमार्ग स्तरवृद्धि र सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगु गमगढी–नाक्चेनाङ्लासम्मको दुई लेनको सडक निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

अर्का नेता बद्री पाण्डेले मुलुकको कुनै परिवर्तन वामपन्थीबाट नभई काँग्रेसले मात्र गर्न सक्ने दाबी गर्दै वर्तमान सरकारले जनतालाई दिग्भ्रमित पारेको आरोप लगाउनुभयो ।

आमसभामा संसद् ललितजङ्ग शाही, पूर्वमन्त्री शिवराज जोशी, पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, जुम्ला जिल्लाका तत्कालीन पार्टी सभापति स्व मानव सेजुवालकी धर्मपत्नी कान्तिका सेजुवाल, मुगु, कालिकोट, सुर्खेत र जुम्ला जिल्लाका पार्टी सभापतिको उपस्थिति रहेको थियो ।

नेपालगन्ज– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको राष्ट्रिय राजनीतिमा आप्mनो दलले सधैँ परिवर्तनका लागि नेतृत्व गरेको बताउनुभएको छ ।

सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा यहाँ आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली काँग्रेस जनतालाई भ्रम बाँडेर राजनीति गर्दैन, लोकतन्त्रको मूल्य, मान्यता र मर्यादा नै काँग्रेसको मूलमन्त्र हो, त्यसमा जनता र मुलुकलाई हामीले साक्षी राखेका छौँ ।”

जहानियाँ राणाशासन, राजतन्त्रको अन्त्य र युद्धमा लागेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन काँग्रेसले ठूलो मूल्य चुकाएको स्मरण गर्दै उहाँले अबको बाटो लोकतन्त्रलाई बलियो बनाउने दिशामा अग्रसर हुनुपर्छ भन्नुभयो ।

सो दलका जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु गगन थापा, दीपक गिरी र किशोरसिंह राठौरले पार्टीका कार्यकर्ताको एकताले नै पार्टी जीवन्त रहने विश्वास व्यक्त गर्नुभयो ।