अवकाश पाउन १० दिन बाँकी छँदा सचिव विदेश सयरमा

जेठ ३२,काठमाडौं – अवकाश पाउन १० दिनमात्र बाँकी रहँदा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव डा। नरेन्द्रमान श्रेष्ठ विदेश सयरमा निस्केका छन्। उनी नेतृत्वको आयोगको टोली आइतबार कम्बोडिया भ्रमणमा निस्केको हो। उक्त टोलीमा आयोगकै सह–सचिव राधाकृष्ण प्रधान र उपसचिव बलबहादुर अधिकारी छन् ।

उक्त टोली कम्बोडियामा द्वन्द्वपछिको सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कामको अध्ययन गर्न गएको हो । टोलीको नेतृत्वकर्ता श्रेष्ठ भने असार ७ मा सरकारी सेवाबाट अवकाश पाउँदै छन्। अवकाश लिने सचिवलाई गम्भिर विषय अध्ययन गर्न विदेश पठाएपछि आयोगमा असन्तुष्टि पैदा भएको छ। उक्त टोली असार ३ मा फर्कने छ।

‘सचिवले अवकाश पाउँदैछन्,उनले अब यहाँ काम गर्ने छैनन् भन्ने थाहा हुँदा–हुँदै सरकारी रकम खर्च गरेर विदेश पठाउनु मुलुकका लागि ठिक हुँदैन,’ आयोगका एक पदाधिकारीले भने। उनका अनुसार अवकाश पाउने सचिवभन्दा नयाँ आएको सचिवलाई पठाउदा राम्रो हुने थियो। आयोगका एक सदस्यले भने,‘आखिरमा त्यहाँ गरेको अध्ययनले यहाँ कसरी अघि बढ्न सकिन्न भन्ने हुन्छ। अवकाश पाउनेले पाएको ज्ञानलाई आफै लिएका जान्छन्।’

आयोगका अध्यक्ष सूर्यकिरण गुरूङले श्रेष्ठको नेतृत्वमा गएको टोलीले त्यहाँ अध्ययन गरेर फर्कने बताए।