चिनियाँ पर्यटक बढ्दै भारतीय घट्दै

जेठ ३२,काठमाडौं –
औद्योगिक लगानीमा भारतलाई उछिनेको चीनले नेपालको पर्यटक बजारमा समेत अग्रता लिने संकेत देखिएको छ।

पछिल्ला वर्षहरुमा भारतीयको तुलनामा चिनियाँ पर्यटकको आगमन वृद्धि निकै उत्साहजनक छ। नेपाल पर्यटन बोर्डका अनुसार हाल भारतीय पर्यटक आगमन घट्दै गएपनि चिनियाँको आगमनमा भएको बृद्धिले पर्यटन क्षेत्रलाई केही राहत दिएको छ।

सन् २०१५ मा चिनियाँ र भारतीइ पर्यटक बराबरीको संख्यामा नेपाल भित्रिएको तथ्यांक छ। यो वर्ष ७४ हजार ७ सय ७७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने भारतीय पर्यटक योभन्दा १०७ मात्रैले बढी अर्थात ७४ हजार ८ सय ८४ छ। बैशाखमा गएको भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा समग्र पर्यटक आगमन ३२ प्रतिशतले घटेको थियो।

सन् २००३ मा चीनबाट ७ हजार ५ सय ६२ पर्यटक नेपाल आउँदा भारतीयको संख्या ८६ हजार ३६३ थियो। तर सन् २०१४ मा चिनियाँ पर्यटक १६ गुणाले बढेर १ लाख २३ हजार ८०५ पुग्दा भारतीय पर्यटक १ लाख ३५ हजार मात्रै पुगे। यो दोब्बरभन्दा निकै कम हो।

विगतका वर्षहरुमा उल्लेख्य संख्यामा आउने भारतीयहरु पछिल्ला वर्षहरुमा भने घटदै गएको होटल एसोसिएसन नेपालले जनाएको छ ।