युरोकप फुटबलमा विश्व विजेता जर्मनीको विजयी सुरुवात

एजेन्सी– युक्रेनलाई पराजित गर्दै विश्व विजेता जर्मनीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ।

युरोकप फुटबलमा विजयी सुरुवात गर्ने क्रममा विश्वविजेता जर्मनीले युक्रेनलाई २–० गोल अन्तरले पराजित गर्यो।

समूह सी अन्तर्गतको आफ्नो पहिलो खेलमा युक्रेनलाई हराउँदा टोनी क्रुसको प्रदर्शन हेर्न लायक रह्यो।
जर्मनीले खेलको १९ औँ मिनेटमा मुस्ताफीको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले अघि रहेको जर्मनीले दोस्रो हाफमा थप एक गोल गर्यो।

खेलको इन्जुरी समयमा बास्टिएन स्वान्सटाइगरले गोल गर्दै जर्मनीलाई २–० को जित दिलाए।

युरो कप फुटबलको उपाधिमा ह्याट्रिक गरिसकेको जर्मनीले सन् १९७२, १९८० तथा १९९६ मा उपाधि उचालेको थियो। तर, त्यसपछि भने युरो कप फुटबलको उपाधिमा जर्मनीलाई खडेरी नै लागेको छ।

पछिल्लो २० वर्ष युरोकप फुटबलको उपाधि उचाल्न नसकेको जर्मनी यसपटक चौथो पटक उपाधि उचाल्ने दाउमा छ।