विवादमा परेको अनमोल र सृष्टीको गाजलु शुक्रबारदेखि प्रर्दशनमा

काठमाडौँ – पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको चलचित्र ‘गाजलु’ शुक्रबार प्रदर्शनमा आउने भएको छ । चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति भएको कुरा बाहिर आएकाले चलचित्र ‘गाजलु’ विवादमा परेको भनियो । पूर्व कुमारीको मुख्य भूमिकामा सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ हुनुहुन्छ ।

यो उहाँको पहिलो चलचित्र हो । हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी, गौरव पहाडी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाहीलगायत कलाकारको अभिनय छ । मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रका निर्माता रोहित अधिकारी हुनुहुन्छ ।

चलचित्रको लेखकसमेत रहेका निर्देशक बिसीले चलचित्रमा सबै कम उमेरका कलाकारलाई आफूले लिएको र यसको कथावस्तु पनि यसअघि कसैले उठान नगरेका विषयको भएकाले दर्शकले मन पराउने आशा व्यक्त गर्नुभयो ।