राष्ट्रिय सहमति आवश्यक – प्रम ओली

विराटनगर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन, आर्थिक समृद्धि, संरचनाको निर्माण, स्थानीय निकायको निर्वाचन र संविधान कार्यान्वयन गराउन पनि प्रमुख दलहरुबीच एकता आवश्यक छ ।”

विगतमा प्रमुख चार दलबीच १६ बुँदे सहमति भई संविधान निर्माण भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा पनि सँगै अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले दलहरु सँगै मिलेर धेरै काम गर्नुपर्ने भएकाले नेपाली काँग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह पनि गर्नुभयो ।

उहाँले मधेसी मोर्चाको माग र असन्तुष्टिलाई सम्बोधन गर्न सकिने भएकाले वार्तामा आउन आग्रहसमेत गर्नुभयो ।