‘काम नगर्नेको तलब रोक्का हुन्छ’ : राखेप

काठमाडौँ, २४ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले काम नगरी तलब मात्र बुझ्ने खेलकुद प्रशिक्षकको तलब रोक्का हुने बताउनुभएको छ ।

नेपालमा सन् २०१८मा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) र सातौँ राष्ट्रिय खेलकुदको आयोजनालाई कसरी प्रभावकारी, व्यवस्थित र उपलब्धिमूलक बनाउन सकिन्छ भन्ने विषयमा सुझाव सङ्कलन गर्न आयोजित अन्तक्र्रियामा विष्टले खेलाडीलाई प्रशिक्षण नै नगराई हाजिर गरेका भरमा तलब मात्र बुझ्ने ती प्रशिक्षकको हाजिर पनि खारेजी हुने बताउनुभयो ।

सदस्य–सचिव विष्टले प्रशिक्षण नगराउने प्रशिक्षकको ‘रिपोर्ट’ सम्बन्धित निकायमा बुझाउ क्षेत्रीय प्रशिक्षण प्रमुखलाई निर्देशन दिँदै खेलाडीलाई प्रशिक्षणको वातावरण मिलाउन सकेसम्म कन्जुस्याइँ नगरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विभागका निर्देशक नवीन उप्रेतीले अन्तक्र्रियाबाट आएका सुझाव समेटी पुस्तिका तयार गरिने तथा हरेक जिल्ला र क्षेत्रमा पठाइने जानकारी दिनुभयो ।

अन्तक्र्रियामा सहभागीबाट राष्ट्रिय टोलीको विकल्पका रुपमा अर्को टोलीको तयारी, दीर्घकालीन योजनाको आवश्यकता, वैज्ञानिक प्रशिक्षण, दैनिक प्रशिक्षणका लागि खेल सामग्रीको व्यवस्थापन, कराते र क्रिकेटलाई १३औँ सागमा समावेश गराइनुपर्ने लगायत सुझाव प्राप्त भएका थिए ।
राखेप अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा आज सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न तीनदिने अन्तक्र्रियामा २३ खेलका प्रमुख प्रशिक्षक र पाँच क्षेत्रका क्षेत्रीय प्रशिक्षण प्रमुखको सहभागिता थियो । विसं २०५४ पछि पहिलो पटक यस्तो अन्तक्र्रिया आयोजना गरिएको हो ।