वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्छः प्रधानमन्त्री ओली

जेठ २३,काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका प्रयास र वातावरणीय सन्तुलनलाई सँगसँगै लैजानु जरुरी रहेको बताएका छन्।
विश्व वातावरण दिवसका अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले वातावरणीय पक्षको अध्ययन गरेर मात्र विकासका कामलाई अघि बढाउनुपर्ने धारणा राखे।
सरकारसँगै जनताले पनि सचेत भएर वातावरण संरक्षणका गतिविधिमा लाग्नुपर्ने सुझाव दिँदै प्रधानमन्त्री ओलीले भने, ‘संरक्षणका हाम्रा प्रयासहरु खेर नगए पनि पर्याप्त छैनन्।’
उनले कार्बन उत्सर्जन र पृथ्वीको तापमान वृद्धि गरिब मुलुकका जनताले चुलोमा दाउरा बालेर नभई विकसित देशको प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन तथा गतिविधिका कारण भएको धारणा राखे।
सामुद्रिक प्रदूषण र हिउँ पग्लिने समस्याका कारण समुद्री तटमा बस्ने जनता बढी मारमा परेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “वनस्पति र जीव भएको यो सुन्दर ग्रह पुथ्वी भविष्यमा जीवनरहित नहोस् भन्नेमा हाम्रो प्रयास केन्द्रित हुनुपर्छ ।
कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीले वातावरण संरक्षणका लागि समितिले सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै उक्त कार्य भएकोरनभएको बारेमा अनुगमनसमेत गर्दै आएको जानकारी दिए।