हस्तान्तरण नगर्दै रंगशाला तोडफोड

जेठ २३ ,कैलाली – २०६८ साल फागुनमा सुदूरपश्चिमाञ्चलमा छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएपछि त्यही साल साउनदेखि कैलालीको धनगढीमा रहेको खेलकुद मैदानलाई रंगशाला बनाउने काम सुरू भयो।
छैठौं खेलकुद प्रतियोगिताका लागि निर्माण हुँदै गरेका प्याराफिट र खेलकुद मैदान गुणस्तरहिन भएको भन्दै अख्तियारमा परेको निवेदनले यस क्षेत्रमा निर्माण हुन लागेको रंगशालालाई अगाडि काम नबढाउनु भन्दै अख्तियारले रोके पछि धनगढी रंगशालाका लागि छुट्याइएको करिब ९ करोड रूपैया पोखरामा रंगशाला निर्माणका लागि गएको थियो।
छैठौं खेलकूद प्रतियोगिता सम्पन्न भयो। तर, यस क्षेत्रको खेलकुद विकासको लागि मेरूदण्ड मानिएको रंगशालाले भने गति लिन सकेन।
तर केही समयपछि फेरि राष्ट्रिय खेलकुद परिषदले धनगढी रंगशालाका लागि बजेट छुट्यायो र काम सुरू भयो।
निर्माण सम्पन्न भइसकेको रंगशाला भने ठेकेदारले हस्तान्तरण नगर्दै तोडफोड भएको छ। भिआईपी प्याराफिटमा ताला लगाइएपनि झयालका सिसा फुटालिएका छन्, ढोकामा भाला रोपेर छियाछिया पारिएकोछ, माथि जाने ढोकामा लगाइएको ताला फुटाउने प्रयास गरिएको प्रष्टै देख्न सकिन्छ। ठेकेदारले तालाबन्दी गरे पनि यहाँ हुने प्रतियोगितामा दर्शक भर्‍याङ चढेर भएपनि प्याराफिटमा जाने गरेका छन्।
ठेक्का सम्झौता अनुसार काम सम्पन्न भएको १ वर्ष सम्म पनि भुक्तानी नपाएको भन्दै दिवा निर्माण सेवा प्रा.लि.का ठेकेदार शेर सिंह खड्काले रंगशालामा निर्माण भएको प्याराफिटमा तालाबन्दी गरिदिएका छन्। करिब २ करोड १५ लाख रूपैया भुक्तानीका लागि विल भौचर एक वर्ष अघि पेश गरेपनि अहिलेसम्म भुक्तानी नपाएको भन्दै तालावन्दी गर्नु परेको ठेकेदार खड्काले बताए।
विल अनुसारको भुक्तानी पाउँ भन्दै एक वर्ष अघि नै विल पेश परेपनि भुक्तानी नपाएकोले रंगशाला समेत कैलाली जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण नगरिएको बताउँदै ठेकेदार खड्काले खेलकुद विकास समतिले विभिन्न बहानामा रंगशाला प्रवेशमा खेलाडीसँग पैसा उठाउने गरेको आरोप लगाए।
त्यस्तै कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले ठेकेदारले समयमा नै निर्माण सम्पन्न नगरेको र स्टिमेट भन्दा बढी काम गरेको भन्दै विल भौचर पेश गरेकोले भुक्तानी रोकिएको हुन सक्ने बताए।
काम पुरा नभएकोले जिल्ला खेलकुद विकास समिति कैलालीले आफ्नो मातहतमा रंगशाला नलिएको बताउँदै अध्यक्ष सिंहले काम पुरा हुनासाथ हस्तान्तरण प्रक्रिया जाने बताए।
ठेकेदार र राष्ट्रिय खेलकुद परिषदको विवादका कारण यहाँ हुने प्रतियोगिताहरु नियमित हुन सकिरहेका छैनन्। तर स्वामित्व नलिएको बताउँदै आएको जिल्ला खेलकुद विकास समिति कैलालीले भने बिहान मर्निङवाकमा आउने व्यक्तिसँग मासिक रूपमा पैसा उठाउने गरेको छ।