अज्ञात रोगका कारण तीन जनाको मृत्यु

उदयपुर, २३ जेठ – उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रको हर्देनी गाविसमा अज्ञात रोग फैलिँदा १० दिनभित्र तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हर्देनी–२ का ३० वर्षीया सविना नेपाली, १८ वर्षीया भीमकुमारी नेपाली र ५५ वर्षीय गङ्गाबहादुर परियार रहेका छन् ।जेठ १० गतेदेखि सो क्षेत्रमा अज्ञात रोग फैलन थालेपछि १० दिनभित्र तीन जनाको मृत्यु भएको स्थानीय शिक्षक नवीन कार्कीले बताउनुभयो ।

सुरु सुरुमा घाँटी सुन्निने, बिरामीको श्वासप्रश्वास प्रक्रियामा अवरोध हुने र शरीर सुन्निँदै गएर तीनदेखि पाँच दिनभित्र बिरामीको मृत्यु हुने गरेको अर्का स्थानीयवासी कृष्णप्रसाद खत्रीले बताउनुभयो । यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकृत दुनियाला यादवले अज्ञात रोगका कारण हर्देनीमा तीन जनाको मृत्यु भएको बताउनुभयो ।

दुई जना बिरामीको उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र एक जनाको कटारी अस्पतालमा मृत्यु भएको यादवले जानकारी दिनुभयो । बिरामीको रोग धरानमा पनि पत्ता नलागेका कारण शनिबार जिल्ला अस्पताल उदयपुरबाट दुई जना डाक्टरसहित अन्य पाँच जना स्वास्थ्यकर्मीको टोली हर्देनीतर्फ अध्ययन गर्नका लागि पठाइएको यादवले बताउनुभयो ।

त्यसैगरी हर्देनी–२ कै निर्मला राईको अवस्था पनि चिन्ताजनक भएका कारण काठमाडौँ पठाइएको छ ।
गाउँका अन्य मानिस पनि बिरामी हुने क्रम बढ्दै जान थालेपछि अहिले हर्देनी, लेखानी क्षेत्रमा जनजीवन त्रसित बन्दै गएको स्थानीयवासी दिपेश राउतले बताउनुभयो । अज्ञात रोग फैलिन थालेपछि हर्देनी गाविस वडा नं २ मा अन्य वडाका मानिससमेत जान डराएको स्थानीयवासी बताउँछन् । समयमा नै स्वास्थ्य मन्त्रालयबाट विशेष टोली नआएर सो क्षेत्रको स्थिति भयावह हुने स्थानीयवासी शिव खत्रीले बताउनुभयो ।