आर्थिक क्रान्तिको नेतृत्व काँग्रेसले गर्नुपर्छ – नेत्री कोइराला

पोखरा, २२ जेठ – नेपाली काँग्रेसकी नेत्री एवम् केन्द्रीय सदस्य सुजाता कोइरालाले आर्थिक क्रान्तिको नेतृत्व काँग्रेसले लिनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल महिला सङ्घ कास्की क्षेत्र नं २ क्षेत्रीय समितिद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले वर्तमानसम्म आइपुग्दा देशका प्रत्येक राजनीतिक क्रान्तिमा अगुवाइ गरेको काँग्रेसको काँधमा आर्थिक क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी पनि थपिएको बताउनुभयो ।

काँग्रेसको नेतृत्वमा देशको आर्थिक विकास र समृद्धि अबको आवश्यकता भएको बताउँदै उहाँले देशका सम्पूर्ण राजनीतिक शक्तिलाई एकाकार गरी अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘पटकपटक सरकार परिवर्तन हुँदा त्यसको प्रत्यक्ष असर आर्थिक समृद्धि र विकास पर्ने गरेको छ ।’’

महिलाको सशक्तीकरणको विषयलाई काँग्रेसले सधैँ प्राथमिकता दिँदै आएको चर्चा गर्दै नेत्री कोइरालाले आफ्नो अधिकार प्राप्त गर्ने कुरामा महिलाको जागरुकता आवश्यक हुनेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले काँग्रेसको नेतृत्वमा बनेको वर्तमान संविधानले दिएका हक तथा अधिकारलाई कार्यान्वयनका तहमा लैजान महिलाको क्रियाशीलता आवश्यक हुने बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेसबाट नेपाली जनताले देशको आर्थिक विकास र समृद्धि अपेक्षा गरेको बताउँदै जनअपेक्षाअनुरुप पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसदद्वय वृन्दा राना र शारदा पौडेल, नेपाल महिला सङ्घ कास्की क्षेत्र नं २ की सभापति लक्ष्मी पाण्डे, नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति मधु बाँस्तोला, नगर सभापति बजिरमान श्रेष्ठ, धना खतिवडालगायतले वर्तमान संविधानको कार्यान्वयन, देशको आर्थिक समृद्धि र विकासलगायतमा काँग्रेसको नेतृत्वदायी भूमिका आवश्यक हुने धारणा राख्नुभयो ।