राष्ट्रिय राजनीतिबारे एमाले स्थायी समितिमा बहस

काठमाडौँ, २२ जेठ – दलभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले) को स्थायी समिति बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक मुलुकको पछिल्लो राजनीतिक परिस्थितिसँगै दलभित्रको असन्तुष्टिलाई किनारा लगाउन केन्द्रित छ । खासगरी प्रमुख सत्ता सझेदार नेकपा (माओवादी केन्द्र)ले सरकार परिवर्तनको विषय उठाइरहेको र उक्त विषयमा दलभित्रैबाट पनि मतमतान्तर देखिएकाले स्थायी समिति मार्फत टुङ्गो लगाउन प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउनुभएको हो ।

एमालेले सत्ता साझेदार केन्द्रसँग करिब एक महिनाअघि सरकार परिवर्तनका लागि भएको भनिएको ‘तीनबुँदे भद्र सहमति’लाई लिएर दुवै दलभित्र खटपट चलिरहेको छ । एमालेका जिम्मेवार नेताहरुले नै उक्त विषयलाई सतहमा ल्याएपछि पार्टीभित्र विवाद चुलिएको बताइन्छ ।

वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षधर नेताले सार्वजनिक रुपमै सरकार परिवर्तनबारे अभिव्यक्ति दिँदै आएका छन् भने अध्यक्ष ओली पक्षधर नेता भने त्यसको बचाउ गर्दै अहिलेको परिस्थितिमा यही सरकारलाई निरन्तरता दिनुपर्ने रटानमा छन् ।

केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका जिम्मेवार नेता पनि विगतको सहमतिअनुसार सरकार परिर्वतनको कसरतमा छन् । यद्यपि एमालेभित्रका एकथरि नेताले भने मुलुकको अहिलेको आवश्यकतालाई ध्यानमा राखी राष्ट्रिय सहमतिको दिशामा पार्टीलाई अघि बढाउनुपर्ने तर्क राख्दै आएका छन् ।

सरकार परिवर्तन लगायत पार्टीभित्र देखिएका यावत् विषयलाई समाधान गर्न एमाले स्थायी समिति बैठकमा केही दिन बहस चल्नेछ । मुलुकको वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले लिनुपर्ने धारणा र पार्टीको आन्तरिक जीवनमा देखिएका सवाललाई स्थायी समितिले छलफल गरी निर्णय लिने पार्टीका प्रवक्ता योगेश भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“बैठकमा यसअघि भएका विभिन्न सहमतिलाई कसरी लिएर जाने भन्नेमा अहिलेको राष्ट्रिय राजनीतिले सहमतिको आवश्यकता महसुस गरिरहेको छ, त्यसैले सत्तारुढ र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका दललाई समेत समावेश गरी कसरी बृहत्तर राष्ट्रिय सहमति कायम गर्न सक्छाँै सो विषयमा छलफल हुन्छ”–उहाँले भन्नुभयो ।

स्थायी समिति बैठकका पाँच कार्यसूची छन् । समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, दलभित्रको आन्तरिक विषय, केन्द्रीय कमिटीको निर्णयानुसार प्रदेश कमिटी गठन, पार्टीका केन्द्रीय निकायको सल्लाहकार परिषद् मनोनयन तथा व्यवस्थापिका–संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका निम्ति दलले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ । बैठक केही दिन लम्बिने एमालेले जनाएको छ ।