स्वदेशी तथा विदेशी ‘प्रचण्डलाई सोध्छन् होइन यो के अचम्म हो’

काठमाडौं, जेठ २१ -माओवादी एकताले मुलुक भित्र र बाहिर गतिलो साहस र एकता पैदा गरेको छ । विभिन्न टुक्रामा विभक्त भएका माओवादीहरु छुट्टा छुट्टै बसेर नेपाली जनताको भावनलाई आत्मसात् गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै एकता प्रक्रियामा सहभागी भएका हुन् ।

आजको जनआह्वान साप्ताहिकमा खबर छ–जनताको चाहना माओवादी एक होस् भन्ने थियो । सहिद परिवार , बेपत्ता घाइते तथा अपांगता भएका नागरिक पनि माओवादी एकताको पक्षमा थिए । एकता प्रक्रिया पूर्ण रुपमा सफल नभएपनि दश वटा माओवादी घटकबीचको एकताले साच्चै नयाँ खालको उभार पैदा भएको छ । एकतापछि गठन भएको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई यतिखेर मुलुक भित्र र बाहिरबाट बधाई दिनेको समूह ठूलो छ ।

अध्यक्ष प्रचण्डसँग एकताको रसायन के हो भन्दै चासो र जिज्ञासा राख्नेको जमात पनि पछिल्लो दिनमा बढ्दै गएको छ । माओवादी फुट्न मात्रै जान्दछन् मिल्न जान्दैनन् भन्ने भनाईलाई अस्वीकार गर्दै उनीहरु एकजुट भएका छन् । एकता प्रक्रियामा सहभागी भएका छन् ।

आज कार्यकर्ता तहमा उत्साह पैदा भएको छ, नयाँ रक्तसञ्चार भएको छ । माओवादीलाई फेरि एकपटक मुलुकको पहिलो र सशक्त पार्टी बनाउने अभियानलाई यसले सार्थक मात्रै बनाएको छैन, एउटा मार्गनिर्देशन समेत गरेको छ । जनतालाई विश्वास गर, जनताको भावनालाई सम्बोधन गर भन्ने मान्यताका आधारमा माओवादीहरु एक ठाँउ आएका हुन् । सहिद परिवारले माओवादी एकतालाई स्वीकार गर्दै सहिदका सपना पूरा गर्न आग्रह गरेका छन् । बेपत्ता योद्धाका परिवार माओवादीलाई शसक्त बनाउन चाहन्छन् ।

पछिल्लो दिनमा देशव्यापी रुपमा पैदा भएको रक्तसञ्चार र उत्साहले पनि सोही कुराको पुष्टि गर्दछ । माओवादी टुट फुट हुँदा प्रतिक्रियावादी तत्वले माओवादीलाई हेला मात्रै गरेनन् अदालत र पूरानो सत्ताको चक्करमा फसाएर सिध्याउने षड्यन्त्र समेत गरे ।