जनयुद्ध र जनआन्दोलनका घाइते बिरोधी बजेट माओवादी

काठमाडौँ, २० जेठ – नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्माले बजेटको रुप पक्ष सकारात्मक भए पनि सारमा भने जनयुद्ध, जनआन्दोलनका घाइतेलाई कुनै राहत नदिइएको बताउनुभयो ।

खर्च गर्ने संयन्त्रको अभाव रहेको, व्यापार घाटा कमी गर्ने कार्यक्रम कमी रहेको, किसानलाई पेन्सन दिने विषय नसमेटिएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो । नयाँ संविधानको भावनाअनुसार बजेट आउनुपर्नेमा त्यसो नभएको भन्दै सांसद शर्माले कर्णाली र सुदूरपश्चिमका जनतालाई समेट्न नसकिएकामा आपत्ति गर्नुभयो ।

राज्यको दृष्टिकोण केन्द्रमुखी र नेतामुखी रहेको भन्दै उहाँले झापा र रुपन्देहीमा बजेट केन्द्रित गरेर पिछडिएको क्षेत्रमाथि अन्याय गरिएको, प्राथमिकता नदिइएको भन्दै असन्तुलित बजेट सच्याउन आग्रह गर्नुभयो । कर्णाली आयोगलाई राष्ट्रिय योजना आयोगको एउटा एकाइ बनाएर ठगिएको भन्दै उहाँले विभेदकारी व्यवस्था हटाएर सन्तुलित बनाउन ध्यानाकर्षण गराउनुभयो ।

राप्रपा नेपालका भाष्कर भद्राले आगामी आवका लागि प्रस्तुत गरिएको बजेटले पूर्वाधार र कृषि क्षेत्रमा विशेष जोड दिइएकाले त्यसको सार्थक कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

बेरोजगारीको अन्त्य, कृषि क्षेत्रको विविधिकरण र आधुनिकीकरण गर्नु जरुरी रहेको भन्दै उहाँले निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सबै सांसदलाई समान भूमिका दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सुबोधकुमार पोखरेलले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सरकारले प्राथमिकता दिएर अगाडि बढाउन खोजेकामा सरकारको प्रशंसा गर्नुभयो ।

वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षा भत्ता बढाएर सरकारले सामाजिक दायित्व लिएको भन्दै उहाँले बजेट जनपक्षीय रहेकामा स्वागत गर्नुभयो ।

राप्रपाका सुनिल थापाले खर्च गर्ने क्षमता नभएको अवस्था कायमै रहेको, चर्को मूल्यवृद्धि हुने अवस्था रहेको भन्दै त्यसलाई नियन्त्रण गर्ने आधार प्रस्तुत गर्न आग्रह गर्नुभयो । बजेटले मुलुकको अर्थतन्त्रमा वित्तीय जोखिम बढ्ने अवस्था रहेको भन्दै उहाँले वितरणमुखी बजेटलाई चाहिने आर्थिक स्रोत जुटाउनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।