प्रहरी निरीक्षक भर्नामा आकर्षण घट्यो

जेठ २०,काठमाडौं– हालै प्रहरी प्रधान कार्यालयले ८६ जना प्रहरी निरीक्षकको नयाँ भर्ना खुला गरेपनि युवाको आकर्षण घटेको निष्कर्ष निकालेको छ। मुख्यालयले जेठ ५ गते खुलातर्फबाट ४६ र समावेशीतर्फ ४० जना गरी ८६ जना प्रहरी निरीक्षकको भर्ना खुलाएको थियो।

बुधवार यस विषयलाई लिएर मुख्यालयमा बसेको पुलिस कोअर्डिनेसन कमिटी (पीसीसी) वैठकमा प्रहरी निरीक्षक भर्नामा युवाको आकर्षण घटेको विषय उठेको थियो। लोकसेवाले लिने अन्य परीक्षामा युवाको आकर्षण बढेपनि प्रहरी निरीक्षकमा युवाको आकर्षण घटेको भन्दै आकर्षण बढाउन हरसम्भव प्रयास गर्ने निर्णय बैठकले गरेको छ।

स्रोतका अनुसार प्रहरी मुख्यालयले युवाको आकर्षण बढाउन प्रहरी हुनुको राज्यप्रतिको जिम्मेवारी र व्यावसायिक प्रदर्शन गर्ने विषय समेटेर डेढ मिनेटको सर्ट मुभी बनाएको छ। वैठकले युवाको आकर्षण बढाउन उक्त मुभी टेलिभिजनमा प्रसारण गर्ने निर्णय गरेको छ। भर्नामा बढीमा २५ वर्ष उमेर ननाघेको उल्लेख गरिएको छ।