प्रधानमन्त्रीका लागी होइन, जनताको आर्थिक विकासका लागि दलहरु प्रतिस्पर्धाको मैदान उत्रिनुपर्छ : कमल थापा

हेटौँडा, १९ जेठ – उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले प्रमुख दलहरुले आर्थिक समुन्नति र परिवर्तनको अनुभूति दिने गरी संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ ।

राप्रपा नेपाल मकवानपुरद्वारा आज कुलेखानीमा आयोजित पार्टीको २ नंं क्षेत्रको अधिवेशनको उद्घाटन गर्दै उहाँले प्रमुख दलहरुले आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनतामाझ लगेर संस्थागत गर्न सकेमात्र संविधान दिगो हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा अहिले धर्ना, जुलुस र आन्दोलन होइन, दलहरुले संयमका साथ सरकारसँग समन्वय गरी अघि बढ्नुपर्छ । त्यसो नगरिए जनतामा दलहरुप्रति वितृष्ण उत्पन्न भई जनता दलहरुको नियन्त्रणभन्दा बाहिर जानसक्ने खतरा छ ।”

राप्रपा नेपालका अध्यक्षसमेत रहनुभएका मन्त्री थापाले जनता अहिले विकास निर्माण, आर्थिक समृद्धि र रोजगारीको आशामा रहेकाले उनीहरुलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री पदको प्रतिस्पर्धा होइन, जनताको आर्थिक विकासका लागि दलहरु प्रतिस्पर्धाको मैदान उत्रिनुपर्छ ।”

भेलामा राप्रपाका केन्द्रीय उपाध्यक्ष राजिव पराजुली, केन्द्रीय सदस्यहरु दीपकबहादुर सिंह, मधु अधिकारी, राजाराम बर्तौला र सांसद गणेश थापाले संविधानको सफल कार्यान्वयन र विकासको पूर्वाधारलाई जनताको घरदैलोमा पु¥याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

भोलिसम्म चल्ने उक्त अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।