वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्यमा सुधार

काठमाडौँ, १९ जेठ – वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सामान्य सुधार आएको छ । खाने नलीमा समस्या बढेपछि उहाँलाई गत सोमबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँका छोरा राजु गुरुङका अनुसार सोमबार उहाँको स्वास्थ्य गम्भीर बनेपछि अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँले भन्नुभयो – ‘‘उहाँको खाने नलीमा पाइप (वाल स्टेन) राखिएको थियो । त्यसमा खानेकुरा जमेर नली बन्द भएपछि समस्या आएको थियो । हिजो नली सफा गरेपछि स्वास्थ्यमा सामान्य सुधार आएको छ ।”
उहाँलाई अझ केही दिन अस्पतालमै राखेर उपचार गरिने बताइएको छ ।
वरिष्ठ सङ्गीतकार गुरुङलाई दुई महिना अघि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा खानेनलीमा पलाएको टुयुमरका उपचार गरी नेपाल ल्याइएको थियो । गुरुङलाई पार्किन्सनको पनि समस्या छ ।