‘नेपाली जनता र समृद्धिलाई केन्द्रमा राखेर बजेट’ : सञ्चारमन्त्री राई

बुटवल, १७ जेठ – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध मुलुकको जग भएको बताउनुभएको छ ।

नेपाल हज समितिले बुटवलमा आज आयोजना गरेको मक्कामदिना पुगेकालाई सम्मान कार्यक्रममा उहाँले नेपाली जनता र समृद्धिलाई केन्द्रमा राखेर बजेट निर्माण भएकाले यसलाई कसैले नकारात्मक टिप्पणी गर्न नसक्ने बताउनुभयो ।

सरकारका प्रवक्ता राईले आर्थिक अनुशासनमा रहेर समृद्ध मुलुक निर्माण गर्ने गरी सबै पक्षलाई समेटेर बजेट आएको स्पष्ट पार्नुभयो । “विरोध गर्नका लागि विरोध गर्नु फरक कुरा हो” मन्त्री राईले भन्नुभयो, “ तर बजेटमा कुनै खोट लगाउने ठाउँ छैन ।”

संविधानको विरोध गर्दैमा र जलाउँदैमा समस्याको समाधान नहुने तर्क गर्दै उहाँले सम्मानपूर्वक बोलाइएको वार्तामा आउन मधेसकेन्द्रित दललाई आग्रह गर्नुभयो । उहाँले वार्तामा आएर मागमाथि छलफल गर्न आन्दोलनरत मोर्चालाई आग्रह गर्नुभयो ।

देश विकासका लागि सबै दल एक भएर अघि बढ्नुपर्छ भन्दै उहाँले काँग्रेसलाई पनि सरकारमा आउन आग्रह गर्नुभयो । सुशील कोइरालाकै पालामा गरिएको १६ बुँदे सहमतिको स्मरण गराउँदै उहाँले त्यो भद्र सहमतिलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।