च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु

पाँचथर, १६ जेठ – च्याउ खाएर बिरामी भएका थप एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला पाँचथर आङना–१ बस्ने कालुमान माङलाकको ३९ वर्षीया श्रीमती मनकुमारी माङलाक रहनुभएको छ ।

उहाँले गत जेठ १० गते जङ्गलबाट ल्याएको च्याउ खाई बिरामी हुनुभएको थियो । उहाँको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

उहाँसहित छ दिनको अवधिमा पाँचथरका विभिन्न गाविसमा गरी पाँच जनाको मृत्यु भइसकेको छ ।