बजेटमा खेलकुदलाई प्राथमिकता : नेता नेपाल

पोखरा, १६ जेठ – नेकपा (एमाले)का नेता माधवकुमार नेपालले खेलकुदलाई हिजो सार्वजनिक बजेटले प्राथमिकता दिएको बताउनुभएको छ ।

आठौँ क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उहाँले खेलको विकासका लागि अत्यावश्यकीय रङ्गशालालगायत भौतिक पूर्वाधार निर्माण गरिने विषय बजेटमा उल्लेख भएको बताउनुभयो ।

खेल र अनुशासनको विशिष्ट सम्बन्ध भएको उल्लेख गर्दै उहाँले खेलले अनुशासन सिकाउने र यसले एक आपसमा सङ्गठित बन्नका लागि पनि प्रेरणा दिने बताउनुभयो । पोखरा आफैँमा महत्वपूर्ण पर्यटकीयस्थल भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले खेल पर्यटन विकासका लागि पोखरेली समुदायले सार्कस्तरीय खेल यस ठाउँमा सञ्चालन गर्न देखाएको अभिरुचि उपयुक्त भएको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् जीवन परियारले प्राकृतिकरुपमा धेरै पर्यटकीय सम्भावना बोकेको पोखरामा खेल पर्यटनको विकासका पनि धेरै सम्भावना रहेको बताउनुभयो ।

एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले राज्यले खेलकुदको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले खेलकुदका माध्यमबाट विभिन्न देशले आफ्नो पहिचान र गौरवलाई विश्व सामु ल्याएको उल्लेख गर्नुभयो ।

क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले सार्क मन्त्रीस्तरीय वैठक सफलताका साथ सम्पन्न गरेको पोखराले सार्कस्तरीय खेलकुललाई भव्यताका साथ सम्पन्न गर्न सक्ने धारणा राख्नुभयो ।

भोेलिसम्म चल्ने प्रतियोगिताअन्तर्गत कुल आठ खेलमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका १६ जिल्लाको सहभागिता हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्स, कबड्डी, फुटबल, उसु, कराँते, तेक्वान्दो र छात्र क्रिकेटमा विभिन्न ३५४ पदकका लागि प्रतिष्पर्धा हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताउनुभयो ।

प्रतियोगिताका विजेतालाई रु २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता र तृतीयलाई क्रमशः रु १५ हजार र रु १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

विधागत खेलमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।