गुजरातले दोस्रो मौका पनि गुमायो, हैदारावाद फाइनलमा

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार राति दिल्लीमा भएको दोस्रो क्वालिफाएरमा गुजरात लाइन्सलाई चार विकेटले हराउँदै हैदरावाद उपाधि नजिक पुगेको हो।
गुजरातले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य हैदरावादले १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। हैदरावादको जितमा कप्तान डेविड वार्नर नायक बने। उनले ८४ रन बनाउँदा पाँच विकेट गुमाएको टिमको पारी सम्हालेका थिए।
वार्नरले ५८ बल खेल्दै नटआउट ९३ रन बनाए। उनले ११ चौका र तीन छक्का प्रहार गरेका थिए। यस्तै बिपुल शर्माले नटआउट २७ रन बनाए। मोइसिस हेनरिक्सले ११ तथा नमन ओझाले १० रन बनाए।
गुजरातका डवेन ब्राभो र शिविल कौशिकले दुई दुई विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले सात विकेटको क्षतिमा एक सय ६२ रन बनायो । उसका लागि एरोन फिन्चले ५०, ब्रेण्डम म्याकुलमले ३२ तथा दिनेश कार्तिकले २६ रन बनाएका थिए।
हैदरावादका भुवनेश्वर कुमार र बेन कटिङले दुई–दुई विकेट लिए।
गएरातिको हारसँगै गुजरातले फाइनलमा पुग्ने दोस्रो मौका पनि गुमायो। पहिलो क्वालिफाएरमा पराजित भएर गुजरात एलिमिनेटरको विजेता हैदरावादसँग दोस्रो क्वालिफाएर खेलेको थियो।
पहिलो क्वालिफाएरमा गुजरातलाई हराएको बैंग्लोर र दोस्रो क्वालिफाएरको विजेता हैदरावादबीच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।