प्रत्येक नेपालीलाई २१ हजार ऋण

जेठ १४, काठमाडौं–यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै २ हजार रुपैयाँ बढेको छ। सरकारले बिहबिार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०७३ मा प्रत्येक नेपालीको टाउकोमा २१ हजार ४ सय १५ रुपैयाँ ऋण रहेको उल्लेख छ ।

गत वर्ष प्रतिव्यक्ति १९ हजार ४ सय ९६ ऋण थियो । नेपालले विभिन्न दातृ निकाय तथा सरकारलाई तिर्नुपर्ने ऋण पनि ३ खर्ब ७४ अर्ब पुगेको छ।

नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा वैदेशिक ऋणको अनुपात तीन प्रतिशत पुगेको छ । गत वर्ष यो अनुपात १.८ प्रतिशत रहेको थियो । यस्तै कुल गार्हस्थ उत्पादनको अुनपातमा बजेट घाटा ७.६ प्रतिशत रहेको छ । नेपालीको आम्दानी प्रतिव्यक्ति १० डलरले घटेको छ ।

चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय १० डलरले घटेर ७५२ डलरमा सीमित भएको छ । गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय ७६२ अमेरिकी डलर थियो । न्यून आर्थिक वृद्धि र अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन भएकाले प्रतिव्यक्ति आय घटेको सरकारले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०७३ उल्लेख छ । आर्थिक वर्ष ०६८र६९ पछि नेपालीको प्रतिव्यक्ति आय यो वर्ष घटेको सर्वेक्षमा उल्लेख छ । त्यस वर्ष नेपालीको आय १२ डलरले ओरालो लागेको थियो । आर्थिक वर्ष ०७०र७१ मा सात सय २५ रहेको नेपालीको आय गत वर्ष ३७ डलरले बढेको थियो ।