आठ महिना अघिसम्मका अस्थायी नियुक्ति पाएका शिक्षकले स्थायीका लागि प्रतिस्पर्धा गर्न पाउने

जेठ १३, काठमाडौं– सामुदायिक विद्यालयमा आठ महिना अघिसम्ममा अस्थायी नियुक्ति पाएका शिक्षकले स्थायीका लागि प्रतिस्पर्धा गर्न पाउने भएका छन् । व्यवस्थापिका संसद अन्तरगतको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिको बुधबारको बैठकले संविधान जारी भएको अघिल्लो दिन असोज २ गतेसम्म अस्थायी भएका शिक्षकले आन्तरिक प्रतिस्पर्धा गर्न पाउने व्यवस्था पारित गरेको छ । प्रतिस्पर्धामा छनौट हुन नसकेका अस्थायी शिक्षक प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित भएको मितिबाट स्वतः अवकास भएको मानिने छ । राहत शिक्षकलाई पनि एक पटकको लागि प्रतिस्पर्धा गर्न उमेर हद नलाग्ने व्यवस्था गरेको समितिका सदस्य कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले बताए । अस्थायी शिक्षक प्रतिस्पर्धामा असफल भए जागिरबाट बाहिरिनु पर्ने हुन्छ भने राहत शिक्षक असफल भएपनि जागिरमा र्फकन पाउनेछन् । सरकारले ०६९ पुस १९ सम्म अस्थायी शिक्षकले प्रतिस्पर्धा वा सुविधा रोज्नु पर्ने प्रस्ताव राखेको थियो । समितिबाट पारित भएको विधेयक संसदको बहुमतबाट पारित भएपछि लागू हुनेछ ।