नेतृत्व नसच्चिए विस्फोट हुनसक्ने एमालेका वरिष्ठ नेताको भनाइ

जेठ १२, काठमाडौं–  एमालेका वरिष्ठ नेताले अध्यक्ष केपी ओली नसच्चिए पार्टीमा रहेको उकुसमुकुस विस्फोट हुनसक्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओली निरंकुश र अपारदर्शी ढंगले अघि बढेको उनीहरूको आरोप छ। मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार गरेको कार्यक्रममा नेता माधव नेपालपक्षीय नेता तथा कार्यकर्ता राजधानीमा भेला भएका थिए।

उनीहरूलाई सम्बोधन गर्दै नेपाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीको कार्यशैलीले पार्टी एकता कमजोर र गुटबन्दी बढेको भन्दै नेतृत्वको आलोचना गरे । उनीहरूले नेतृत्व चुन्ने विधि नै परिवर्तन गर्नुपर्ने धारणासमेत राखेका थिए । कार्यशालामा जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी, जनसंगठनका पदाधिकारीसहित चार सय ५० नेता–कार्यकर्ता सहभागी रहेको केन्द्रका महासचिव ठाकुर गैरेले जानकारी दिए।