आईसीसीले क्यानको निलम्बन अक्टोबरसम्म लम्ब्याउने

जेठ ११, काठमाडौं–  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन आगामी अक्टोबरसम्म लम्ब्याउने भएको छ। आइसिसीले नेपाल क्रिकेट संघको निर्वाचित कार्यसमितिका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदलाई सोमबार पत्र पठाएर क्यानलाई निलम्बित गर्नुभन्दा अगाडिको विवादबारे विस्तृत अध्ययन गर्न एउटा टोली नेपाल पठाउने तयारी गरेको बताएको छ। आइसीसीको पत्र अनुसार क्यानको हालको निलम्बन कम्तिमा पनि आगामी अक्टोबरसम्म जारी रहनेछ । उक्त टोलीले दिएको सुझाव प्रतिवेदनको आधारमा मात्रै नेपाली क्रिकेटको भविष्यबारे निर्णय लिने आईसीसीको तयारी छ। कुनै पनि राष्ट्रको क्रिकेट नेतृत्वलाई लिएर विवाद हुँदा आइसीसीले आफ्नै स्वतन्त्र समिति बनाएर छानविन गर्दै आएको छ। छानबिन समितिले पेश गरेको प्रतिवेदनका आधारमा निलम्बन फुकुवा गर्ने वा थप शर्तहरु राखेर कारबाहफ अझ कडा बनाउने भन्ने निर्णयमा आईसीसी पुग्छ। आईसीसीले सरकारी हस्तक्षेप र स्वतन्त्र तथा निष्पक्ष निर्वाचन हुन नसकेको कारण देखाउँदै गत बैशाख १२ गते नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो