बाँकेले भन्यो–अब बजेट चाहिँदैन

जेठ १०, काठमाडौं– बजेट निकासा दिन माग गर्ने जिविसहरुको भीडमा ‘अब बजेट चाहिँदैन’ भन्ने जिविस पनि देखिएको छ, त्यो हो बाँके।
राजधानीमा रहेका बाँकेका एलडिओ जीवलाल भुसालले आफ्नो जिल्लामा सबै योजनाहरू सम्झौता भइसकेका र अधिकांश आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको बताएका छन् ।
तराई बन्द हुँदा समेत आफ्नो जिल्लामा ठेक्का प्रक्रिया, लागत स्टिमेट, उपभोक्ता समिति गठन जस्ता कार्य अगाडी बढाएका कारण काम गर्न सम्भव भएको भुसाल बताउँछन्।
‘बाँकेमा कुनै पनि योजना सम्झौता गर्न बाँकी छैन। ९५ प्रतिशत आयोजना निर्माण सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा छन् र बाँकी रहेको ५ प्रतिशत पनि दुई हप्ताभित्र सम्पन्न भएर हस्तान्तरण भइसक्नेछ। आर्थिक वर्ष सकिन एक साता बाँकी छँदा थप निकास आएर खर्च गर्न सकिन्न त्यसैले हामी असक्षम हुन चाहन्नौ।’