बादलले पार्टी छाडे, कार्यालय छोडेनन्

जेठ ९, काठमाडौं– नेकपा क्रान्तिकारी माओवादी विभाजन गरेका नेता रामबहादुर थापा बादलको समूह नेकपा माओवादी केन्द्रमा एकीकृत भएको छ । तर, बहुमत सदस्यसहित बाहिरिएका बादलले पहिलेको पार्टी कार्यालय भने छाडेका छैनन् । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा छ ।
अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकतामा असहमति राखेपछि बादलले आफूपक्षीय सदस्यको केन्द्रीय समिति बैठक राखेर आफैँलाई अध्यक्ष घोषित गरेका थिए ।
त्यसपछि उनी वैद्यलाई छाडेर पार्टी एकतामा गएका थिए । कार्यालय नछाड्ने, बरु केही फर्निचर दिने बादल पक्षको योजना रहेको र भाडाको घर भए पनि बुद्धनगरको कार्यालयले राजनीतिक महत्त्व बोकेको भन्दै बादल पक्षले उक्त कार्यलय नछाड्ने जनाएको छ ।
बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले कार्यालय पनि आफ्नै हुने भन्दै उसले वैद्य पक्षलाई कार्यालय सार्न आग्रह गर्ने भएको छ । नेता सावित्रीकुमार काफ्लेले जनवादी केन्द्रीयतालाई मान्ने हो भने बहुमतका आधारमा कार्यालय आफूहरूको भएको बताएका छन् ।