बाढीका कारण ३ जनाको मृत्यु, ४जना बेपत्ता, कयौँ घाइते

जेठ ७, कालिकोट– कालिकोट जिल्लामा हिजो साँझ ४ बजेदेखि परेको अविरल वर्षाका कारण कोटवाडा गाविसमा पर्ने गेज बजार र लालीघाट बजारमा आएको बाढीका कारण मानवीय क्षति हुनुका साथै करोडौंको धनमालको क्षति गरेको छ ।
कोटबाडाको खहरे खोलामा आएको बाढीले गेज बजारका ५० भन्दा बढी पसहलहरू बगाएको छ । बाढी पहिरोमा परेर ४ जना बेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्युना गाविस २ का ५० वर्षीया धनमती टमट्टा, स्यूना ५ का ३० वर्षीय हीरा तिरुवा, धौलागोह गाबिस ९ की २५ वर्षीया लक्षु भण्डारी छन् ।
बाढीमा परेर स्यूना २ का ५० वर्षीय सञ्जिते टमट्टा, थीर्पु ५ की टक्क बमकी छोरी ६ वर्षीया श्रीष्टा बम, रकु २ का ५० वर्षीय मणि सुबेदी, बाजुरा गोत्री १ का अज सार्कीका ४ महिनाका छोरा बेपत्ता रहेको बताइएको छ ।
बाढीले थुप्रै सर्वसाधारण घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।
विगत लामो समयदेखि खडेरी परीरहेका बेला एक्कासि आएको वर्षाले कालिकोट जिल्लामा ठूलो क्षति पुगेको हो । उद्धारका लागि प्रहरी बिहीबार रातिनै पुगेको छ । क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन ।