वैदेशिक रोजगारका लागि नक्कली एजेन्टको बिगबिगी

जेठ ७, काठमाडौं– वैदेशिक रोजगारीमा हुने अधिकांश ठगीमा नक्कली एजेन्ट सक्रिय रहेको भेटिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मात्रै पछिल्ला १० महिनामा २२ ठगीका मुद्दामा २४ एजेन्ट पक्राउ गर्‍यो । तीमध्ये धेरै वैदेशिक रोजगार विभागमा सूचीकृत नभएका एजेन्ट थिए ।

२०७२ जेठ २६ को श्रम मन्त्रीस्तरीय निर्णयअनुसार सरकारले असार २१ देखि मलेसियासहित ६ मुलुकका लागि निस्शुल्क भिसा, टिकट लागू गरेपछि सूचीकृत एजेन्टको संख्या हवात्तै घटेका बेला अवैध एजेन्टको बिगबिगी भने बढेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले एजेन्टहरू मेनपावर व्यवसायीको कन्ट्रोलमा नहुने भएकाले नयाँ सूचीकृत एजेन्ट दर्ता नगरेको र भएका एजेन्टको पनि दर्ता खारेजी गरेको बताएका छन् ।
२०७२ को वैशाखमा विभागमा दर्ता भएका मेनपावरको संख्या १ हजार ३३ थियो । यो संख्या सोही वर्षको चैतमा २ सय ७८ ले घटेर ७ सय ५५ भयो । विभागका अनुसार अहिले ६ सय ७३ सूचीकृत एजेन्ट ७ सय ५५ मेनपावरका निम्ति काम गरिरहेको देखिन्छ ।