गर्भपतन गर्ने चक्की खाई ज्यान जोखिममा पार्नेहरु

जेठ ६, काठमाडौं– गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसुति अस्पतालमा उपचार गराइरहेकी छिन् ।

उनले कुनै चिकित्सकको सल्लाह बिना नै, पसलले दिएको भरमा उक्त औषधि सेवन गरेकी थिईन।

मिफेस्प्रिटोन, मिजोप्रोस्टोल लगायतका औषधि किनेर खाई ज्यान जोखिममा पार्नेहरुमा उनी एक्ली होइननन्, प्रसुति गृहमा त्यस्ता समस्या लिएर दिनहुँ एक दुई जना पुग्ने गरेका छन् ।

‘प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार यस्ता चक्कीले चिकित्सकीय सहयोगमा ६३ दिनसम्मको गर्भपतन गर्न मिल्छ । तर, आफूखुसी प्रयोग गरेर वा त्यसभन्दा बढी समयको गर्भमा खाएर पाठेघर फुटाएकाहरू समेत अस्पतालमा आउँछन् । उनका अनुसार गर्भपतनको चक्कीलाई पारासिटामोलजत्तिकै सामान्य ठान्ने क्रम बढ्दो छ ।

गौतम सकेसम्म गर्भपतन नगराउन सल्लाह दिन्छन् । ‘औषधि वा औजार प्रयोग गरेर गरिने गर्भपतनमा कुनै न कुनै समस्या वा खतराको सम्भावना हुन्छ,’ उनले भने । पछिल्लो जनसांख्यिक सर्वेक्षणअनुसार नेपालमा २५ प्रतिशत गर्भ बिनायोजना रहने गरेको छ ।

गर्भपतनको चक्की डाक्टरको सिफारिस बिना बेचे ५ वर्ष कैद हुने प्रावधान छ भने १२ सातासम्मको गर्भलाई पतन गर्न मिल्छ ।