आन्दोलनकारी रोक्न बालुवाटारमा अर्कै निर्णय

जेठ ४, काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि लागू हुने गरी थप संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको अध्यक्षतामा बसेको उक्त बैठकले प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको १०० मिटरसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मिटर र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मिटरसम्म निषेधित क्षेत्र तोकेको हो।

दुई दिन सिंहदरबार घेराउ गरेर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न लागेको संघीय गठबन्धनको आन्दोलनलाई निस्तेज पार्न सरकारले यस्तो नयाँ रणनीति अपनाएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम निषेधित क्षेत्र तोकिएको र उल्लेखित सूचनाको बर्खिलाप हुने गरी कसैले कुनै कार्य गरेरगराएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए ।
सरकारी निर्णयसँगै अब संघीय गठबन्धन प्रधानमन्त्री केपी ओलीको निवास नजिक पुग्न पनि सक्ने छैनन् ।