क–कसले प्रयोग गर्न पाउँछन् भिआइपी कक्ष

जेठ ३, काठमाडौं– मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, सांसद, सचिवहरूले भिआइपी कक्षबाट ओहोरदोहोर गर्न पाउँछन् । सरकारी हैसियत नभएका ख्यातिप्राप्त व्यक्तिले भिआइपी कक्ष प्रयोग गर्नुपरे सरकारले औपचारिक निर्णय नै गर्नुपर्छ ।

नेपालका ख्यातिप्राप्त कलाकारले भिआइपी कक्षको सुविधा पाउँदैनन् । तर, बलिउड अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोरालाई नेपाली सेनाको ठाडो आदेशमा भिआइपी कक्ष प्रयोग गर्न दिइयो।

अमरपक्षी नामक नृत्य कार्यक्रममा सहभागी हुन उनीहरू ३० वैशाखमा नेपाल आएका थिए । उनीहरूले आउँदा–जाँदा भिआइपी कक्ष प्रयोग गरेका हुन् ।

यसअघि गत मंसिर दोस्रो साता भारतीय रक गायक मोहित चौहानलाई पनि प्रधानसेनापति गौरवशमशेर राणाको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न दिइएको थियो ।

सरकारको निर्णयविनै भिआइपी कक्ष प्रयोग गर्न दिइएपछि सो विषय विवादमा परेको हो ।