हावाहुरीबाट करोडौँको केराखेती नष्ट

राजविराज– मङ्गलबार राति अचानक आएको हावाहुरीबाट सप्तरीको पूर्वी भेगमा रहेको हजारौँ बिघाको केराखेती नष्ट भएको छ।

सप्तरीको भारदह–१ स्थित कोसी पलारमा हजारौँ बिघामा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पु¥याएको छ।

त्यस्तै, हनुमाननगर योगिनिमाई नगरपालिका–२ स्थित कोसी पलारमा करिब ५०० बिघामा लगाइएको केरामा समेत क्षति पुगेको स्थानीयवासीले बताएका छन् । हावाहुरीका कारणले केरा खेतमै आधी भाँचिएपछि केराका घरी भुइँमै यत्रतत्र थुप्रिएको छ भने अधिकांस केरा जरादेखिनै उखेलिएका छन्।

किसानको आयआर्जनका लागि आधार नै केराखेती भएकाले महँगो मूल्यतिरेर मलखाद तथा कीटनाशक औषधि लगाएर केरा खेती गरेका थिए । तर  मङ्गलबार राति आएको हावाहुरीले करोडौँ मूल्य बराबरको केरामा क्षति पु¥याएको छ ।

यहाँका किसानले दिनरात मिहेनत गरेर ऋण उठाएर भएपनि करोडको लागतमा लगाएको केरामा आएको हावाहुरीले क्षति पु¥याउँदा आफूहरु झन् समस्यामा परेको स्थानिय कृषकले   बताए।