उत्खनन नहुँदा करोडौंको सिलाजित अलपत्र

बैशाख २६, म्याग्दी– प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य सिलाजित उत्खनन हुन सकेको छैन ।

सिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडौंको नोक्सानी भइरहेको छ ।

म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा सिलाजित पाइन्छ । सिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्मा बताउँछन् ।

नुनिलो र टर्रो स्वाद हुने सिलाजित भिरपहरामा मात्र पाइन्छ । सिलाजित कालो र सेतो गरी दुई किसिमका हुन्छन् । पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर सिलाजित बत्रे गरेको बताइन्छ ।

कालो सिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नशासम्बन्धी रोग निको हुने जनविश्वास छ ।

सिलाजितको नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्ला आयुर्वेदिक चिकित्सकहरुले बताएका छन् । सिलाजित उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक १० करोड रूपैयाँसम्मको सिलाजित बिक्री हुन सक्ने प्रवल सम्भावना रहेको भए तापनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी व्यापारीहरुको भनाइ रहेको छ ।

बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा सिलाजित खेर गइरहेको जिल्ला विकास समिति म्याग्दीले जनाएको छ । बजारमा प्रतिदशग्राम सिलाजित २५ देखि ३० रूपैयाँ सम्ममा बिक्री हुन्छ ।

तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र सिलाजित निर्यात हुने गरेको छ ।