जारी आन्दोलन भारतको इशारामा भन्नुु बिल्ला भिराउने काममात्रै : यादव

वैशाख २५, काठमाडौं–संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जारी आन्दोलन भारतको इशारामा चलेको भनी आरोप लगाउनु ‘बिल्ला’ भिराउने कामबाहेक केही नभएको बताएका छन् ।

शनिबार संघीय गठबन्धनको काठमाडौं केन्द्रीत आन्दोलनबारे जिज्ञासा लिन पुगेका पार्टीका प्रचारप्रचार उपसमितिका टोलीसमक्ष अध्यक्ष यादवले पञ्चायतविरुद्ध लड्दा पनि यसखाले बिल्ला बिराउने काम भएको जनाए । ‘पञ्चायतविरुद्ध लड्दा अराष्ट्रिय तत्व र विदेशीका दलाल भन्थे,’ उनले भने, ‘यसखाले बिल्ला भिर्नेहरु धेरै अहिले सरकारमा छन् ।’
साथै, यादवले संघीय गठबन्धनद्वारा घोषित आन्दोलन उत्पीडित, दमित र गरीब समुदायको साझा संघर्ष भएको जिकिर गरे । उनले जबसम्म मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिलाको समस्या समाधान हुँदैन, तबसम्म संघर्ष जारी रहने पनि जनाए ।
हाल संघीय गठबन्धनका संयोजकसमेत रहेका यादवले आन्दोलनमाथि बल प्रयोग गरे मूर्खता हुने र उल्टै सत्तासिनलाई बढारिदिने चेतावनीसमेत दिए । उनले भने, ‘दमनको नीति लिए मूर्खता हुनेछ र शासकको पतन निश्चित छ ।’
प्रचारप्रसार उपसमितिका संयोजक ध्यानबहादुर राईको नेतृत्वमा पुगेको टोलीसामू अध्यक्ष यादवले कालोबजारी, बेरोजगारी, तस्करतन्त्र, लोडसेडिङ, भूकम्प पीडितको समस्या चाँडो हल गराउन दबाब दिन पनि आन्दोलन अघि बढ्ने जनाए । ‘हामीले सम्पूर्ण राष्ट्रिय समस्याको समाधान चाहेका छौं,’ उनले थपे, ‘राष्ट्रिय समस्याहरु समाधान नभइन्जेल संघर्ष जारी रहन्छ ।’
अध्यक्ष यादवले वर्तमान संविधान काम नलाग्ने भएकाले संशोधनका निम्ति संघर्ष गर्नुपरेको धारणा दोहो¥याए । ‘तत्कालीन राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक तथा संवैधानिक सम्वाद समितिका सभापतिले संविधान त्रुटीपूर्ण रहेको स्वीकारेका छन्,’ उनले जोड दिए, ‘यसले पनि वर्तमान संविधान संशोधन अपरिहार्य रहेको देखाइसकेको छ ।’
साथै, संविधान संशोधन नगरी कार्यान्वयनमा लान खोजे आफूहरु चुप लागेर नबस्ने जनाए । ‘हामीले संविधान जलाएकामात्रै हौं,’ उनले भने, ‘संशोधन नगरी बढे बर्खास्त गर्नेछौं ।’