विद्यार्थी भर्ना शुल्क ५० हजार, मासिक २८ हजारसम्म

वैशाख २३, काठमाडौं–  विद्यार्थीसँग मनपरी शुल्क असुल्दै आएका राजधानीका निजी विद्यालयले मासिक शुल्क २८ हजार रुपैयाँसम्म लिने गरेका छन्। राजधानीमा सञ्चालित केही निजी विद्यालयमा बुधवार अनुगमन गर्दा यस्तो पाइएको हो।
प्रचलित नियमकानुनको बेवास्ता गर्दै शुल्क उठाएको गुनासो आएपछि शिक्षा विभाग नेतृत्वको टोली र मुख्य दल निकट विद्यार्थी संगठनले बुधवार छुट्टा–छुट्टै रुपमा विद्यालयको अनुगमन गरेका थिए। विभागका उपनिर्देशक बलबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले प्रिमियर र एपेक्स स्कुलको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा प्रिमियरले विद्यार्थीसँग भर्ना शुल्कबापत ५० हजार रुपैयाँ लिएको पाइएको थियो। त्यस्तै चाबहिलस्थित एपेक्स स्कुलले मासिक शुल्क बाहेक बार्षिक शुल्कका नाममा १५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइयो।

अनुगमनमा सहभागी अभिभावक संघका अध्यक्ष सुप्रभाव भण्डारीले भने,‘विद्यालयहरुले मनलाग्दी शुल्क लिइरहेको देखियो। यसलाई नियन्त्रण गर्न सरकारी संयन्त्र असफल गरेको पाइयो।’
शिक्षा विभागले भने अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्ने जनाएको छ। (अन्नपूर्ण पोस्टबाट)