वर्तमान सरकारबाट एमाओवादीको समर्थन फिर्ता, प्रचण्डको नेतृत्वमा नयाँ सरकारगठन गर्ने निर्णय

बैशाख २२, काठमाडौं–
एकीकृत नेकपा माओवादीले वर्तमान सरकारबाट समर्थन फिर्ता लिँदै अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ । उसले एमाले, कांग्रेस, राप्रपा नेपाल लगायत सबै दललाई एमाओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बिहानै बसेको एमाओवादी पदाधिकारीको बैठकले प्रचण्डको नेतृत्वमा सरकार बनाउने र यसका लागि सबै दललाई सार्वजनिक अपील गर्ने निर्णय गरेको हो ।

‘हामीले राष्ट्रिय स्वाधिनता, संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पुनर्निर्माण लगायतका विषयलाई केन्द्रविन्दुमा राखेर केपी ओलीको नेतृत्वलाई समर्थन गरेका थियौं,’ पदाधिकारी बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने,’तर हामीले बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकारबाट काम भएन ।’

एमाओवादी पदाधिकारी बैठकले अब एमाओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्दै यसमा साथ दिन सबै दललाई अपील गर्ने निर्णय गरेको श्रेष्ठले अनलाइनखबरलाई बताए ।

नेपाली कांग्रेसले एमाओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको जानकारी दिँदै श्रेष्ठले यसमा अन्य दलहरुलाई आग्रह गरिएको बताए ।

बैठकपछि प्रचण्डले जारी गरेको विज्ञप्ती
Press Release PRACHANDA