क्यानडेली नागरिकको प्रवेशाज्ञा खारेज

वैशाख २२, काठमाडौँ– नेपालका विषयमा सामाजिक सञ्जालमार्फत अनावश्यक टिप्पणी गर्ने रोबर्ट पेन्नर नामका क्यानडेली नागरिकको गृहमन्त्रालयले प्रवेशाज्ञा खारेज गरेको छ ।

ती क्यानडेलीलाई अध्यागमन विभागको अनुरोधमा सोमबार ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो । क्यानडेली नागरिक पेन्नरले नेपाल बसाइका लागि लिएको कामदार प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले जानकारी दिए ।

क्यानडेली नागरिक पेन्नरले सामाजिक सञ्जालमार्फत नेपालको सामाजिक सद्भाव भड्काउने गरी टिप्पणी गर्दै आएको उजुरीका आधारमा छानबिनका लागि सोमबार पक्राउ गरिएको थियो । उनी भिन्नाभिन्नै प्रवेशाज्ञाका नाममा विगत तीन÷चार वर्षदेखि नेपालमा बस्दै आएका थिए । हाल कामदार प्रवेशाज्ञामा बस्दै आएका थिए ।

उनले मधेस आन्दोलनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीका विषयमा समेत सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्दै आएका थिए । कामदार प्रवेशाज्ञामा आएको व्यक्तिले सोही अनुरुप काम गर्नुको साटो सम्बन्धित देशको राजनीतिक विषयमा टिप्पणी गर्नु अध्यागमन कानुन उल्लङ्घन गरेको मानिन्छ ।