राज्यमन्त्री महतद्वारा स्वास्थ्य केन्द्र उद्घाटन

वैशाख १६, जुम्ला –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले यहाँ एक सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरेका छन् ।

चन्दननाथ नगरपालिका–२ आचार्यबाडागाउँ, जुम्लास्थित जगतबहादुर रावलको घरमा केन्द्रको कार्यालय उद्घाटन गरिएको हो । राज्यमन्त्री महतले कुनै पनि देशको प्रधान कुरा स्वास्थ्य, शिक्षा हो भन्दै राज्यले आवश्यक स्वास्थ्य सेवा परिपूर्ति गर्ने बताए । “देश विकासको निम्ति हरेकले इमान्दार र अनुशासित हुनुपर्दछ, राज्यलाई कर तिरेर एउटा असल नागरिकको कित्तामा आफ्नो नाम दर्ज गर्नुपर्दछ”, राज्यमन्त्रीले महतले भने ।

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य अधिकृत वैद्यनाथ झाले नेपाल सरकारको योजना तथा चन्दननाथ नगरपालिकाको सिफारिसमा यो केन्द्रको स्थापना गरिएको बताए । केन्द्रले स्वास्थ्य चौकी वा सो सरहको सेवा दिन्छ र दिने सबै खालको औषधि निःशुल्क हुन्छ, जनस्वास्थ्य अधिकृत झाले थपे । केन्द्रको सही परिचालन तथा व्यवस्थापनका लागि सेवा क्षेत्रका बासिन्दालाई अपनत्व लिन उनले आग्रह गरे ।