सहिद रामप्रसाद रांईको योगदानको स्मरण

वैशाख १६, काठमाडौ– नेपालको प्रजातन्त्र स्थापनार्थ सहिद रामप्रसाद राईले पुर्याएको  योगदानको स्मरण गरिएको छ ।
सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले राणाकालीन अवस्थामा नेपालमा प्रजातन्त्र स्थापनार्थ उनले पु¥याएको योगदान अविष्मरणीय रहेको भन्दै उनलाई राष्ट्रिय विभुति घोषणा गर्न माग गरे ।
उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले सहिद रामप्रसाद राईलगायतका सहिदका कारण अहिले मुलुकमा लोकतन्त्र ल्याउन सम्भव भएको भन्दै नेपालमा नयाँ संविधान ल्याउँदा अकारण अमानवीय नाकाबन्दीको सिकार हुनुपरे झैँ सहिद रामप्रसाद राईलाई पनि प्रजातन्त्र आएपछि बेपत्ता बनाइनु दुःखद भएको बताए ।
पूर्वमन्त्री गोपाल किराँती राईले पूर्वाग्रहरहित भई सहिद रामप्रसाद राईको जीवनीलाई विश्वविद्यालयमा पठनपाठन गराउनुपर्ने माग गरे । प्रतिष्ठानका अध्यक्ष तारादेवी राईले सहिद रामप्रसाद राईलाई राज्यले बेवास्ता गरेको आरोप लगाउँदै उनको योगदानलाई राज्यले कदर गर्नुपर्नेमा जोड दिइन् ।
विसं १९६५ फागुन १८ गते भोजपुरको बासीखोरामा जन्मिएका सहिद राईले तत्कालीन राणा सरकारको ज्यादतीविरुद्ध युद्ध नै चलाएका थिए । पहिले सेनामा रहेका राईले राणा सरकारको विरोधसँगै सेनाको जागिर छाडेर तत्कालीन विरोधी पक्षका कमाण्डरका रुपमा भोजपुर, ओखलढुङ्गा कब्जा गरेका थिए । प्रजातन्त्र आएपछि पनि त्यो आफूलाई मान्य नहुने भन्दै सिंहदरबारमा विरोध गर्न पुगेका राई २००८ साल माघ ८ गते सिंहदरबारबाटै बेपत्ता भएका थिए ।