नेपाल–भारत सम्बन्ध पुनरावलोकन,सुस्तायो प्रबुद्ध समूह

वैशाख १५, काठमाडौं–  नेपाल–भारतबीच सबै सन्धि, सम्झौता, सहमतिको अध्ययन गरी दुवै सरकारलाई सुझाब दिन गठित प्रबुद्ध समूह सुस्ताएको छ। काठमाडौंमा बस्ने भनिएको पहिलो बैठक पनि अनिश्चित भएको छ।

बैठकका लागि नेपाली समूहले गरेको प्रस्तावमा भारतले जवाफ दिएको छैन। पहिलो संयुक्त बैठक काठमाडौंमा राख्न भारतीय सदस्यलाई निमन्त्रणा पठाएको तीन साता बितेको नेपालका तर्फबाट समूहका सदस्य डा। भेषबहादुर थापाले बताए। ‘काठमाडौंमा पहिलो बैठक राख्न सहमति नै छ, हामीले भारतीय मित्रहरूलाई तीन साताअघि निमन्त्रणा पठाएका छौँ, उताबाट जवाफ आएको छैन,’ थापाले भने। हरेक तीन–तीन महिना समूहको संयुक्त बैठक पालैपालो एक–अर्को देशमा बस्ने र अध्ययन विश्लेषण गर्ने कार्यविधि समूहले पाएको छ।

कार्यविधि स्वीकृत, छलफल शून्य

प्रबुद्ध समूह गठन भएको दुई वर्षमा नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी त्यसलाई दुवै देशको हितमा हुने गरी पुनरावलोकन, खारेजी वा यथास्थानमा राख्न सिफारिस गर्ने कार्यविधि दुवै सरकारले स्वीकृत गरिसकेका छन्।

दुई वर्षपछि एउटै संयुक्त प्रतिवेदन सम्बन्धित सरकारलाई बुझाउने विज्ञ समूहको कार्यविधि रहे पनि छलफल सुरु हुन सकेको छैन। चार वर्षअघि तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका सबै पक्ष केलाएर सरकारलाई प्रतिवेदन दिन प्रबुद्ध समूह गठन गर्ने सहमति भएको थियो।

०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका वेला समूह गठन गर्ने निर्णयसँगै दुवै सरकारले एक–एक लाख डलर बजेटसमेत घोषणा गरेका थिए । दुई वर्ष म्याद रहेको समूहले संयुक्त रूपमा सम्बन्धका विभिन्न पक्ष केलाएर समस्या, समाधानसहितको सिफारिस गर्ने म्यान्डेट पाएको छ।(नयाँ पत्रिका दैनिकबाट)