धरौटीमा छुटेका वीर अस्पतालका दुई कर्मचारीले हाजिर गर्न थाले

वैशाख १५, काठमाडौं– बलात्कारमा संलग्न व्यक्तिलाई निर्दोष सावित गर्न अस्पतालबाट डिस्चार्ज भएको नक्कली कागजपत्र बनाएको अभियोगमा पक्राउ गरी धरौटीमा छुटेका वीर अस्पतालका दुई कर्मचारी धमाधम हाजिर गर्दै काममा खटिएको पाइएको छ।

बलात्कारमा संलग्न सिन्धुपाल्चोक मानेस्वाँराका उद्धवप्रसाद नेपाललाई निर्दोष सावित गर्न ५० हजार रुपैयाँ लिएर अस्पतालमा भर्ना र डिस्चार्ज भएको नक्कली कागजपत्र बनाएको आरोप लागेका लक्ष्मणप्रसाद अर्याल र कृष्णप्रसाद तिमल्सिनाले एक महिनादेखि हाजिर गरेर काम थालेका हुन्।

नियमअनुसार अदालतमा मुद्दा चलिरहेको र धरौटीमा छुटेका कुनै पनि व्यक्तिलाई मुद्दाको किनारा नलागेसम्म निलम्बन गर्नुपर्छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल कर्मचारी नियमावली, निजामती कर्मचारी ऐन, अदालतथ बन्दोबस्ती नियमावलीविपरीत गम्भीर प्रकृतिको मुद्दामा धरौटीमा छुटेका कर्मचारीलाई काम गर्ने अधिकारी छैन। (अन्नपूर्ण पोस्ट दैनिकबाट)