नुवाकोटका तीन निर्वाचन क्षेत्रबाट पुनःनिर्माण अभियान सुरु

वैशाख १३, काठठमाडौं–गत वर्ष विनाशकारी भूकम्प गएको आइतबार एक वर्ष पुगेको स्मरणमा नुवाकोटका तीन वटा निर्वाचन क्षेत्रबाट पुनःनिर्माण अभियान सुरु गरिएको छ । क्षेत्र नं १ को रातमाटे, क्षेत्र नं २ को खरानीटार र क्षेत्र नं ३ को चारघरेबाट निजी आवास अनुदान सम्झौता सुरु गरी निजी आवास निर्माण अभियान सुरु भएको घोषणा गरिएको हो ।

भूकम्पबाट नुवाकोटमा भत्केका झन्डै ७२ हजार निजी घर पुनःनिर्माण गर्नुपर्ने सरकारी तथ्याङ्क रहेको छ । क्षेत्र नं १ को रातमाटेमा आयोजित कार्यक्रममा सो क्षेत्रका सांसद एवम् काँग्रेस नेता अर्जुननरसिंह केसीले रातमाटे गाविस–१ का ठूलोकृष्ण लामालाई आवास अनुदानको सम्झौता हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा नेता केसीले एकै परिवार भूकम्पपछि छुट्टिएर चार परिवारसम्म भएकाले राहत वितरणमा समस्या भएको बताउँदै वास्तविक पीडितलाई यस्ता गतिविधिले बाधा पर्ने हुँदा निःस्वार्थ हुन आग्रह गरे ।

उनले राष्ट्रिय विपद्को बेलामा राजनीतिबाट माथि उठेर जुनसुकै दलको पीडित भए पनि सहयोग गर्न चुक्न नहुने स्पष्ट परे ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले भूकम्पपीडितको घर निर्माणको लागि दिइने अनुदान रकम दिन केही समय ढिला भए पनि सरकारले अब तीव्र गतिमा पुनःनिर्माण अभियान थाल्नेमा आफू विश्वस्त रहेको बताए । गाविस सचिव रामशरण भण्डारीले रातमाटे गाविसमा एक हजार १४८ घर भूकम्पबाट भत्केको तथ्याङ्क गाविससँग रहे पनि पछिल्लो तथ्याङ्क घटेर ८९५ जना लाभग्राहीले घर निर्माणको लागि  दुई लाख प्राप्त गर्ने नामावली कार्यालयमा प्राप्त भएको बताए ।