केपी ओली हटाउन पार्टीभित्र आन्दोलनको घोषणा

बैशाख ९,काठमाडौं– एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले केपी ओली नेतृत्वको सरकारलाई यथासिघ्र विस्थापित गरेर प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन ।
रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले एमालेले अहिले माओवादीको चिहानमा बसेर पश्चिम बंगालको ज्योति बशुले शासन गरे जस्तो आफू शासन गर्न चाहिरहेको दावी गर्दै  ओली सरकारको विस्थापनकोलागि पार्टीभित्रबाटै शसक्त आन्दोलन गर्ने घोषणा गरे ।
किरातीले भने,‘ केपी ओलीको सरकार ईतिहासमै खतरनाक राष्ट्रघाति सरकार हो । यो सरकारलाई यथासिघ्र विस्थापित गरेर एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउनु पर्छ । त्यो हुन नसके मधेस आन्दोलन, पुर्ननिर्माण र शान्ति प्रक्रियाको विषयमा धारणा लिएर काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बनाउन सकिन्छ ।’
उनले केपी ओलीको रबैयाको सिखण्डी भएर एमाओवादी बस्न नहुने भन्दै अब पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने अन्यथा पार्टीभित्र शसक्त आन्दोलन गर्ने बताए ।
आफ्नो अभियानको समर्थनमा ५० केन्द्रीय सदस्य रहेको दावी गरेका किरातीले सरकारलाई विस्थापन गर्ने विषयमा पार्टीको संसदीय दल, पोलिटब्यूरो र केन्द्रीय  कमिटिमा समेत छलफल गराउने योजना सुनाए ।
उनले भने,‘यो सरकार लामो समयसम्म जान सक्दैन । केपी ओलीबाट एमाओवादी आजित भईसकेको छ । एमाले नेतृत्वले सरकारमा हामीलाई धोका दिएको छ ।’
किरातीले खोक्रो राष्ट्रबादको नाममा भारतलाई चिढ्याएर भारत हुँदै अन्तर्राष्ट्रिय गठबन्धन बनाएर माओवादीलाई घेराउ गर्ने खतरनाक योजनामा प्रधानमन्त्री लागेको दावी गर्दै माओवादीको चिहानमा एमालेको शासन गर्ने योजनालाई एमाओवादीले बुझ्नु पर्ने बताए । उनले भने,‘ केपी ओली शान्ति सम्झौता सिध्याएर ज्योति बसु र चारु मजुमदारको जस्तो अवस्थामा पुर्याउने षडयन्त्रमा लागेका छन ।’
उनले एमाओवादीबाट सरकार छाड्नु हुन्न भन्नेहरु एमालेमै गए हुने चेतावनी दिदै एमाले कम्यूनिष्ट पार्टी नभएको र एमाओवादीले पनि एमालेको नेतृत्वमा सरकार बनाउँदा कम्यूनिष्ट पार्टी भनेर सहयोग नगरेको स्पष्ट पारे ।
क्रान्तिमा भएको क्षतिको पूर्ति गर्न माओवादी पार्टीबिच एकता हुनु पर्नेमा जोड दिदै किरातीले मोहन बैद्य जनवादी क्रान्तिकै पक्षमा रहेकोले रामबहादुर थापा बादलको नेतृत्वमा धु्रविकरण भएर एकताकोलागि आए पनि आफुहरुले स्वागत गर्ने स्पष्ट पारे ।