वर्तमान सरकार पूर्ण रुपमा असफल ः सिटौला

वैशाख ८, सिन्धुपाल्चोक– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनताको दैनिकी सहज बनाउन सरकार असफल भएको बताएका छन् ।
सिन्धुपाल्चोकमा नेपाल तरुण दलको जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्वमहामन्त्री सिटौलाले सरकार सस्तो लोकप्रियता देखाएर आफ्नो आयुु बढाउन मात्र लागेको आरोप लगाए । उनले भने, ‘आज पनि अभाव, महंगी उस्तै छ, तर सरकार यसप्रति आँखा चिम्लिरहेको छ ।’ सरकार जनताप्रति अनुत्तरदायी रहेको भन्दै उनले यसका विरुद्ध कांग्रेस सडकमा उत्रिने चेतावनी दिए । प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेस सरकारका कामकारवाहीप्रति आँखा चिम्लेर बस्न नसक्ने स्पष्ट पारे ।
कार्यक्रममा सांसद समेत रहेका तरुण दलका अध्यक्ष उदय शमशेर राणाले कालाबजारी, महंगी र अभावका विरुद्ध तरुण दल सशक्त रुपमा आन्दोलनमा जाने बताए । उनले तरुण दल अधिवेशनमा जुटिसकेकाले तोकिएको समयमै अधिवेशन हुने स्पष्ट पारे ।
अधिवेशनबाट तरुण दल सिन्धुपाल्चोकको अध्यक्षमा दोर्जे लामा निर्विरोध  चयन भएका छन् । केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाका अनुसार तरुण दलले अहिलेसम्म २८ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसको १३ औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले ६ महिनाभित्र भातृसंस्थाको अधिवेशन गर्न निर्देशन दिएपछि तरुण दल अधिवेशनमा जुटेको हो । तरुण दलको एक साता अघि बसेको केन्द्रीय समितिको बैठकले भदौ अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने मिति तोकिसकेको छ ।