नेपाली सेना लाग्यो विद्यालय पुनःनिर्माणमा

वैशाख ८, बागलुङ– भूकम्पले चर्काएको बागलुङ सदरमुकामस्थित विद्यामन्दिर उच्च माविको भवन पुनःनिर्माणमा नेपाली सेनाले सघाएको छ। ७५ वर्षअघिको पुरानो भवन भूकम्पपछि झन् जीर्ण बनेपछि नयाँ बनाउनका लागि पुरानो भवन भत्काउने काममा नेपाली सेनाको यहाँस्थित सूर्यदल गणका जवान परिचालित छन्।

यसअघि पनि भूकम्पले क्षतिग्रस्त बनेको सोही विद्यालयको पुरानो चारकोठे भवन सेनाले नै भत्काएको थियो । मङ्गलबारदेखि सुरु भएको भवन भत्काउने कार्य एक साताभित्र पूरा हुने प्रमुख सेनानी इन्दीवर विष्टले बताए। १४ कोठे भवन पूरै भत्काएर नयाँ भवन बनाउने विद्यालयले जनाएको छ।

ुपुरानो भवन भत्काएर जग तयार गर्न एक साता लाग्छ, नेपाली सेना मात्र यहाँ परिचालित छ”, प्रमुख सेनानी विष्टले भने, ुभूकम्पपछिको उद्धार र पुनःनिर्माणमा सेनाले पुर्याउँदै आएको सहयोगको एउटा भाग हो यो।ु जिल्लाकै पुरानो र इतिहास बोकेको विद्यालय भएको हुँदा सेनाले पनि सहयोगमा सक्रियता देखाउँदै आएको छ । नेपाली सेनाले जिल्लाका अन्य स्थानमा पनि विद्यालय भवन पुनःनिर्माणमा सहयोग गर्दै आएको छ।

नेपाली सेनाले कतिपय स्थानमा तत्कालका लागि अस्थायी टहरा बनाएर समेत पढ्ने व्यवस्था मिलाएको थियो। आवश्यकता परेको ठाउँमा सेना सधैं खटिन तयार रहेको सूर्यदल गणका सेनानी गणेश पौडेल क्षत्रीले बताए। प्रमुख सेनानी विष्टसहित अधिकृत र जवान सहयोगमा खटिएका छन्। विद्यामन्दिर उच्च माविका प्राचार्य जगन्नाथ आचार्यले नेपाली सेनाले विद्यालय पुनःनिर्माण कार्यमा सधैं सहयोग गर्दै आएको बताए।

ुबढी क्षति पुगेको चारकोठे भवन भत्काउन गत वर्ष पनि सेनाले सहयोग गरेको हो, अहिले पनि गरिरहेको छु, प्राचार्य आचार्यले भने,ुसेनाको सहयोग र सद्भावप्रति हामी ऋणी छौँ।ु आचार्यले आठकोठे नयाँ भवनका लागि जिल्ला शिक्षा कार्यालयमार्फत ६० लाख रुपैयाँ बजेट छुट्टिएको जानकारी दिए।  सो बजेट मात्र पर्याप्त नभएको भन्दै उनले अन्य दाताबाट सहयोग जुटाएर भवनलाई पूर्णता दिने बताए। ुनयाँ भवनका लागि दुई करोडको बजेट आवश्यक छ, सहयोग जुटाउँदै भवन थप्दै जाने योजनामा छौं,ु उनले भने।