मधेशी मोर्चालाई काँग्रेसले सहमतिमा ल्याउँछ : रिजाल

बैशाख ३, मोरङ–
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले आन्दोलनको तयारी गरिरहेको मधेशी मोर्चालाई काँग्रेसले सहमतिमा ल्याउने बताएका छन् । अहिलेको प्राथमिकता भनेको मधेसी मोर्चा र सरकारलाई मध्यविन्दुमा ल्याएर समस्याको निकास खोज्ने भएको उनले बताए ।
शुक्रवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री रिजालले मधेसीको आन्दोलनलाई सम्बोधन नगरी संविधानको कार्यान्वयन गर्न समस्या हुने बताए । ‘समस्याको मध्यविन्दु खोजी सम्झौता गराउन काँग्रेसले पहल थाल्ने छ,’ उनले भने ।
मधेसी मोर्चाको आन्दोलनप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्दै उनले मधेसी मोर्चाले पनि जिद्दी नगरी वार्तामा बस्नु पर्ने बताए ।