टेलिफोन र मोबाइलको गुणस्तर खस्किए १० करोडसम्म जरिवाना

चैत २९,काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले सेवाको गुणस्तर खस्किएमा १० करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ।
‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७२’ को मस्यौदामा प्राधिकरणले निर्धारित मापदण्डअनुसार गुणस्तर स्तरोन्नति नगरे दण्ड सजायका लागि उच्च रकम तय गरेको हो।

विनियमावलीमा साधारण टेलिफोन, मोबाइल सेवा र डेटालाई छुट्टाछुट्टै सेवाको सूचक निर्धारण गरिएको छ। तोकिएको सूचक कायम नगर्ने सेवाप्रदायकहरुलाई १ देखि १० करोड रुपैयाँसम्म जरिवाना लग्ने व्यवस्था गरेको छ।

विनियमावलीमा गुणस्तर सुधार गर्ने समयसीमा तीन महिनादेखि एक वर्षसम्म कायम गरेको छ। तीन महिनाभित्र गुणस्तर सुधार गरे जरिवाना लाग्ने छैन।

चारदेखि ६ महिनासम्म ढिला १ करोड, ७ देखि ९ महिनासम्म ढिला गरे ५ करोड र ९ महिनादेखि १ वर्षसम्म गुणस्तर सुधार नगर्नेले १० करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने छ। दूरसञ्चार प्राधिकरणको १८ वर्षे इतिहासमा पहिलो पटक सेवाको गुणस्तर सम्बोधन गर्न विनियमावली कार्यान्वयनमा आउन लागेको हो।

प्राधिकरणले मस्यौदालाई अन्तिम रुप दिन आइतबार सरोकारवालासँग छलफल गरेको थियो। विनियमावलीमा मोबाइल नेटवर्कमा पहुँच ९९ प्रतिशतभन्दा बढी हुनुपर्ने उल्लेख छ ।(कारोबार दैनिकबाट)