नन्दादेवी खनाल ललितकला सम्मानबाट विभिन्न श्रृष्टा तथा सञ्चारकर्मी सम्मानित

काठमाडौं–कलाकार रमेश खनालले आफ्नी आमाको नाममा स्थापना गरेकोे नन्दादेवी खनाल ललितकला सम्मानबाट विभिन्न श्रृष्टा तथा सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।

अरुपण आर्ट ग्यालरीमा एक कार्यक्रमको आयोजना गरी ‘लाइफ टाइम अचिभमेन्ट स्पेशल आर्टिस् अवार्ड’ बाट कलाकार कृष्णगोपाल रञ्जितलाई सम्मान गरियो । यसैगरी ‘आर्ट क्रिटिक्स स्पेशल अवार्ड’ बाट मुकेश मल्ल, ‘कमर्सियल आर्टिस्ट स्पेशल अवार्ड’ बाट वरिष्ठ कला डिजाइनर अशोकमान सिंह, ‘ट्रेडिसनल आर्टिस्ट अवार्ड’ बाट वरिष्ठ थाङ्का कलाकार मानबहादुर दोङ, ‘आर्ट मिडिया अवार्ड’बाट कान्तिपुर दैनिकका सञ्चारकर्मी मधु शाही, ‘आर्ट प्रमोटर अवार्ड’ बाट व्यवसायी विनोद अग्रवाल र ‘क्रियटिभ आर्टिस्ट अवार्ड’ बाट इलामका मुर्तिकार विष्णु श्रेष्ठलाई सम्मान गरियो ।

वरिष्ठ कलाकार हरिप्रसाद शर्माले कला क्षेत्रमा प्रदान गरिने यस्ता सम्मान र पुरस्कारको खाँचो रहेको बताउँदै कलाकारलाई प्रोत्साहन गर्न अन्य क्षेत्रले पनि यस्ता कार्यक्रमको आयोजना गर्नुपर्नेमा जोड दिए ।

ग्यालरीको अध्यक्ष कलाकार खनालले २०६९ सालमा स्थापित उक्त सम्मानले कलाकारलाई हौसला प्रदान गर्ने आफूले विश्वास लिएको बताउँदै यसलाई निरन्तरता दिने समेत जानकारी दिए ।