एक साताभित्रै नयाँ प्रधानन्यायाधीश नियुक्ति होला?

चैत २६, काठमाडौं–
पहिलो पटक प्रधानन्यायाधीश महिला बन्दै

सर्वोच्च अदालतका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले यसै साता अवकाश लिँदै छन्। तर, उनको अवकाशपछिको प्रधानन्यायाधीश बन्ने सुशीला कार्कीको नाम अझै संवैधानिक परिषद्ले सिफारिस गर्न सकेको छैन।

संसदीय सुनुवाइ समिति गठन नभएको र संवैधानिक परिषद्ले पूर्णता पाउन ढिलाइ भएकाले कार्कीको नाम सिफारिस हुन नसकेको हो। परिषद्को बैठक शुक्रबार मात्र बस्दै छ। सर्वोच्चमा २० हजारभन्दा बढी मुद्दाको चाप छ। तर, अहिले आधा मात्रै न्यायाधीश छन्। न्यायपरिषद्ले सिफारिस गरेका ११ जना स्थायी न्यायाधीशको सिफारिस पनि संसद्मा पुगेर रोकिएको छ।

संवैधानिक परिषद् बैठक आज

प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ। परिषद्को बैठक शुक्रबार बस्दै छ। बैठकले नयाँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्नेछ। यसअघि १८ चैतमा बैठक बसे पनि परिषद्ले पूर्णता नपाएका कारण कार्कीको नाम सिफारिस हुन सकेको थिएन। कार्की सर्वोच्चको २५औँ प्रधानन्यायाधीश मात्रै होइन, नेपालकै पहिलो महिला प्रधानन्यायाधीश पनि हुनेछिन्।

कायममुकायम प्रधानन्यायाधीश बन्दै कार्की

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले ३० चैतमा अवकाश लिएपछि वरिष्ठ न्यायाधीश सुशीला कार्की कायममुकायम प्रधानन्यायाधीश हुनेछिन्। संवैधानिक परिषद्ले सिफारिसमा ढिलाइ गरे वा संसद्को सुनुवाइमा ढिलाइ भए पनि कार्कीले कामुको जिम्मेवारी पाउनेछिन्। (नयाँ पत्रिका दैनिकबाट)